• २०८१ माघ ९ गते बुधवार

कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १०, चितवन। लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार आज उद्योगले रु ७० प्रतिगोटा ब्रोयलर चल्ला बिक्री गरेका छन् । उनका अनुसार कोरोना सङ्क्रमणको समयमा झण्डै पाँच महिना चल्ला बिक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा रु १२५ र ब्रोयलरको रु ७० मा बिक्री भइरहेको छ ।

नेपालमा ३२४ वटा ह्याचरी उद्योग छन् । सातामा ३० देखि ३५ लाख ब्रोयलर चल्ला उत्पादन हुने गर्दछ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उनको भनाइ छ । उत्पादन राम्रो हुँदा ब्रोयलर चल्लाको लागत मूल्य रु ५६ पर्ने सङ्घको तथ्याङ्कमा उल्लेख छ । अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट रु ३४५ मा बिक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य रु ११.५३ हो । किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताए । कोरोना सङ्क्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उनले बताए । अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ ।

नेपाल दाना अण्डा वितरक सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो रु ३३० मा बिक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य रु २१० को हाराहारीमा पाएका छन् । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ । कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो रु सात र भटमासमा रु १२ वृद्धि भएको उनले जानकारी दिए । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढे पनि किसानको अवस्था हेरेर दानामा रु तीन प्रतिकिलो बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस