पौष १०, काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी र उपत्यकाको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बैठकले प्रथम अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधन गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा दर्ता गरेको छ ।
स्रोतका अनुसार बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधन गरिएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो । यसैगरी केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेअनुसार ११ सय १९ सदस्यीय कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी गराइसकेको छ । दाहाल–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।