मंसिर १०, काठमाडौँ । बाँकेमा र सुनसरीमा एकरएक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो ।
मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । सप्तरीको राजविराज ४ घर घएका ५० वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । ती पुरुषमा पहिलेदेखि नै कलेजो सम्बन्धी समस्या पनि रहेको अस्पतालको भनाइ छ ।
उनमा यही मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।