मंसिर ८, मोरङ । मोरङमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराट शिक्षण अस्पताल र म्याक्स अस्पतालमा उपचाररत एक वृद्धासहित दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान मृत्यु भएको छ । उनलाई मंसिर ४ गते कोरोना पुष्टि भएको थियो । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएकी वृद्धाको बिहान मृत्यु भएको हो। त्यस्तै इलामको सूर्योदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको विराट शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको हो । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यसतै विराटनगरकै म्याक्स अस्पतालमा उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको मृत्यु भएको हो । मुटुमा पुरानै समस्या भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।