कार्तिक ७, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबार वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले भन्नुभएको छ, “नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःशर्त, भेदभावबिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु ।’’
अहिलेको विषम परिस्थितिमा जनताको जीवन नै कष्टकर भएको यथार्थतर्फ संवेदनशील भई जनहितमा काम गर्न आग्रह गर्दै सभापति देउवाले नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरेको स्मरण गराउनुभएको छ । यसैगरी जनताले आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने तथा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक भएकाले सरकारले कुनै शर्तबिना यसको कार्यान्वयन गर्नुपर्छ, सभापति देउवाको वक्तव्यमा उल्लेख छ ।
यसैबीच काँग्रेसको कोभिड–१९ अनुगमन समितिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकाले यस वर्षको बडादशैँलाई आ–आफ्ना घरमा मात्रै मनाएर सङ्क्रमणको जोखिमलाई कम गर्न आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।