असोज ७, काठमाडौँ । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौंको बालाजुमा डेरा गरी बस्ने ३२ वर्षीया संगीता क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रहरी अनुसन्धानका क्रममा संगीताले हालसम्म २२ स्थानमा बालबालिकाको मुन्द्रा लुटेर फरार भएको खुलेको छ । संगीताले बालबालिकाहरुलाई चकलेट,आइसक्रिम दिएर आमाको साथी हुँ भनी ललाई फकाई, प्रलोभनमा पारी, डरत्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने गर्दै आएकी थिइन् । उनले लुटेको गहना एक पसलमा बेच्दै आएकी थिइन् । प्रहरीले सुन खरिद गर्ने काभ्रे घर भई हाल ललितपुरस्थित सौगलमा डेरा गरी बस्ने ३० वर्षीय मुरली विकलाई पनि पक्राउ गरेको छ ।
विकले आफ्नै सुनचाँदी पसलमार्फत लुटिएका र बिनाबिलका सुनहरु सस्तोमा खरिद गर्ने र स्वरुप परिवर्तन गरी बिक्री गर्ने गरेको खुलेको छ । उनको साथबाट सुनको सिक्री (चुँडिएको ) ६२ लाल, गलेको सुन ६१ लाल, ३० हजार ५ सय नगदलगायतका सामाग्री बरामद गरिएको छ । महिलाले हालसम्म तारकेश्वर, मनमैंजु, कपन, कपुरधारा, गल्कोपाखा, स्युचाटार कोटेश्वर, गोठाटार, माहांकाल ओरालो, आरुबारी बौद्ध, शिवचोक, नारायणटार, कपन मिलन चोकलगायतका स्थानबाट बालबालिकाको कानबाट सुन लुछेर लगेको खुलेको प्रहरीले जनाएको छ ।