भाद्र ७, मोरङ । नेपालमा भारतबाट हतियार र लागुऔषधको ‘सप्लाई’ गर्ने गिरोहका नाइके भारतीय नागरिकलाई प्रहरीले लागुऔषधसहित विराटनगरबाट पक्राउ गरेको छ । भारतको अररिया जिल्ला इन्द्रनगर ग्रामपञ्चायत–१० टिकुलिया बस्तीका ३९ वर्षीय बग्गा भनिने प्रदीप यादवलाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट पक्राउ गरेको हो ।
शनिबार साँझ पक्राउ परेका उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । यादव हातहतियार खरखजना र लागुऔषध मुद्दाका फरार प्रतिवादी पनि हुन् । यादवको साथबाट प्रहरीले लागुऔषध डाइलेक्स डीसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद गरेको छ ।