काठमाडौँ उपत्यकाको उत्तरतिर पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने अनेकौँ तीर्थस्थलमध्ये एउटा महत्वपूर्ण तीर्थस्थल हो तारकेश्वर । ऐतिहासिक पाँचमाने र जितपुरफेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा प्रायः जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । प्राकृतिक सौन्दर्यको खानी समेत मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक तीर्थ हो। स्कन्दपुराणको केदार खण्डको माघमहात्म्य श्री स्वस्थानी व्रतकथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहे भन्ने उल्लेख छ ।

तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । तारकेश्वर महादेव मन्दिर नजिकै झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन्। नववर्ष, एकादशी, शिवरात्री, जनैपूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढाटाढाबाट भक्तजनहरु यहाँ पूजाआजा गर्न र मेला भर्न आउने गर्दछन्।
देव र दानवको युद्धमा कार्तिकेयलाई भाला चलाउने अधिकारमात्र दिइएको थियो तर उनकी श्रीमती भल्लिमाला र देवसेनालाई बाण, ब्रह्मास्त्र, वायव्यास्त्र, अग्न्यास्त्र चलाउने अधिकार प्राप्त थियो। दानवसँग युद्ध गर्न जाँदा अघोर स्वरुपमा म तारकेश्वरमा रहन्छु भनी स्वयम् शिवजीले देवसेना र अन्य सेनालाई भन्नु भएको थियो। त्यसैले युद्धभूमिमा जान सिद्धि प्राप्त गर्नुपर्ने तथा हातहतियार आवश्यक परेकोले सो प्राप्त गर्न सबै देवगण तारकेश्वर पुगेका थिए । त्यसपछि देवगणले महादेवको प्रार्थना गरी उक्त हतियार र सिद्धि प्राप्त गरेका थिए । मनको इच्छा पूरा गर्न वा केही सामग्री माग्न तारकेश्वर मन्दिरमा गएर प्रार्थना गर्ने प्रचलन भएको कुरा कविन्द्र प्रताप मल्लको हनुमानढोकास्थित शिलालेखमा पनि उल्लेख छ । जुन कुरालाई शिलाभी सारमा समेत उल्लेख गरिएको छ । त्यसैले, हिजोआज मानिसहरु आफ्नो मनोकाब्क्षा पूरा होस भनेर तारकेश्वरमहादेव मन्दिरमा पूजाआजा गर्न जाने गर्दछन्।
पहरामा रहेका तारकेश्वर महादेवको पूजा अर्चना गर्न थुप्रै भक्तजन जाने गर्दछन्। तर पहरामा रहेका महादेवको पूजा गर्न उक्लनु पर्ने भएकाले त्यहाँ उक्लन राखिएको फलामे भर्याङ्ग पनि जीर्ण अवस्थामा पुगिसकेको छ । जसले गर्दा भक्तजनलाई साह्रै अप्ठेरो परेको देखिन्छ । वि.सं. २०५६ माघमा कालीबाबाको मृत्यु भएपछि उनको समाधिस्थ गरिएको ठाउँमा शिवलिङ्ग निर्माण गरिएको छ । कालीबाबाको कुटी पनि वैशाख १२ र २९ को भूकम्पले भत्किएको छ । खासै भन्ने हो भने तारकेश्वरको भव्यता नै ओझेलमा पर्न पुगेको देखिन्छ । प्राकृतिक सुरम्य वातावरणमा रहेर पनि यसको रमणीयता नै लुटिएको आभाष हुन्छ ।
तारकेश्वर महादेव मन्दिरलाई पवित्र तीर्थका रुपमा लिइने भएकाले प्रायः थुप्रै भक्तजन विभिन्न चाडपर्व र तिथिमा त्यहाँ पुग्छन्। त्यसको अलावा विदाको समयमा घुमफिर गर्न पनि मानिसहरु तारकेश्वर जाने गर्दछन्। यो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने भएकाले यहाँ जाने जोकोहीले पनि निकुञ्जको नियम पालना गर्नु वाञ्छनीय छ । तारकेश्वर वरपर विभिन्न प्रकारका चराचुरुङ्गी, फूल, पुतलीको अवलोकन गर्न सकिन्छ । तारकेश्वर मन्दिर पुग्न ठाउँठाउँमा छिडीको व्यवस्था गरिएको भए पनि मन्दिर परिसरको भने खासै व्यवस्था भएको छैन । मन्दिरको काखमा रहेको पोखरीको सरसफाइ नभएकोले त्यसको सौन्दर्य हराउन पुगेको छ । त्यस्तै, त्यहाँ रहेको पाटी तथा आश्रम पनि खण्डहर बन्न पुगेको देखिन्छ ।
तारकेश्वर महादेव मन्दिरको शिरोभागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिब्गमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्य अवलोकन गर्नसकिन्छ । हालसम्म यस स्थानको प्रचारप्रसार तथा निर्माणका लागि कुनै पनि योजना तयार नभएकाले यो तीर्थ उपेक्षित अवस्थामा रहेको प्रतीत हुन्छ । देवादिदेव महादेवको पावन तीर्थस्थलको प्रचार प्रसार गर्न एउटा गुरुयोजना निर्माण गर्नुपर्ने देखिन्छ । त्यसका लागि पर्यटन मन्त्रालय, राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।