मंसिर ७, दाङ । दाङका थप २ जना कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ६८ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका(९ बनगाउँका ६७ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु २ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो । घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।
यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको हो । उनमा मधुमेह र निमोनियाको समस्या थियो । योसंगै दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २८ पुगेको छ ।