वैशाख १०,हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताउँदै विगतमा बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन सकिएन भने त्यसले गम्भीर असर गर्नसक्ने बताउनुभयो ।
उहाँले एकल तथा सामूहिक एवं चक्लाबन्दी खेतीलाई व्यवस्थित गर्ने, पशुपालनलगायत कृषिमा रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्नसक्ने हो भने त्यस्ता जनशक्तिको व्यवस्थापन हुने धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले अब हिजो बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामरीबाट बच्न विदेशबाट आएका हरेक नागरिक र तिनीसँग सम्पर्कमा रहेका आफन्तको परीक्षण गर्नुपर्ने हुँदा उनीहरुको खोजी गरी परीक्षण गर्नुपर्ने बताउनुभयो । पौडेलले विभिन्न स्थानबाट गाउँ फर्कँदै गरेका नागरिक जो–कोहीलाई पनि गाउँ फर्कन व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्नुभएको हो ।