• २०८३ बैशाख २७ गते आइतवार

वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक, ५ काठमाडौँ । वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् । गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको निस्शुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको हो ।

नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको र कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निस्शुल्क उपचार भइरहेको जनाएको छ । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस