साउन ६, काठमाडौं । सरकारले आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनु भएको हो ।
सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छ । यद्यपी विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न भने पाइने छैन ।
भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।