फागुन ९, सुर्खेत । सुर्खेतबाट दुईलाख घूस रकमसहित एक प्राविधिकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुई लाख घुसको रकमसहित आख्तियारको टोलीले पक्राउ गरेको हो।
सुर्खेतबाट खटिएको अख्तियारको टोलीले कार्यालय समयपछि केसीलाई रंगेहात पक्रेको हो। केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले भेरीगंगाको मदाने चौरबाट पक्राउ गरेको अख्तियार कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। यसबारे थप जानकारी आउन बाँकी रहेको सापकोटाको भनाइ छ। केसीले निर्माण सम्पन्न भइसकेको बराह झोलुंगे पुलको काम सकिएपछि भुक्तानी मिलाइदिएबापत भनेर घुस मागेको आयोगले जनाएको छ।