- ईश्वर गैरे
माघ ५, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला समितिको आयोजनामा शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

पार्टीको जिल्ला सेक्रेटरी सरलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ५ सेक्रेटरी कमरेड प्रमोदले राष्ट्र अहिले गम्भीर सङ्कटमा परेको हुँदा देशभक्त शक्तिहरु मिलेर खबरदारी र आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए । उनले भारतीय पक्षले अतिक्रम गरेको भूमि फिर्ताको लागि र हालै सरकारले अमेरिकासँग गर्न लागेको एमसीसीका बिरुद्धमा सम्पूर्ण जनतालाई गोलबन्द गरि आन्दोलनको आँधी बेहरी सृजना गर्नुपर्ने बताए । पार्टीले कालापानी जाऔं अभियान समेत ल्याएको बताउँदै प्रशिक्षणमा सहभागी कार्यकर्तालाई केन्द्रीय योजना सफल पार्न तयारीका साथ अगाडि बढ्न निर्देशन समेत दिए । त्यसैगरी अर्कावक्ता नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज समीरले सीमा अतिक्रमणको बिषयमा गतबर्ष मेचीमहाकाली अभियान लगेर जनताको बीचमा गएको त्यस बेला मानिसहरुले विश्वास नगरेको र अहिले भारतीय पक्षले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पुवाधुरा समेत गाभेर नक्सा जारी गरेपछि मात्र सिङ्गो देश अहिले जुरुक्क उठेको बताए । उनले भने – ”हाम्रा दुई बर्ष अगाडि देखिको आन्दोलन सत्य थियोे भन्नेकुरा पुष्टि भएको छ अबको भरोसा गर्ने पार्टी (क्रान्तिकारी माओबाद) हो भन्ने चर्चा समेत राष्ट्रिय स्तरमा भइरहेको छ जसले गर्दा पार्टीको योजना सफल पार्न दाङ जिल्ला पार्टी गाउँ गाउँमा जानु पर्ने बेला आएको छ ।”
जिल्ला सक्रेटरी सरलले जिल्लाको संगठनको अवस्था र हामीले गर्ने पर्ने कामका बिषयमा प्रशिक्षण दिएका थिए भने स्वागत मन्तब्य अजयले राखेका थिए । कार्यक्रम परिवर्तनको सञ्चालनमा भएको थियो ।