पुष ३, कपिलबस्तु । श्रीमतीको हत्या गरी ४ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ थुनिया भदोखर्क घर भएका २७ वर्षीय उस्मान धोबी मुसलमान भनिने उसमान गनी मुसलमान छन् ।

प्रहरीका अनुसार उस्मानले ३० साउन २०७३ मा आफ्नी श्रीमती २६ वर्षीया साजरा खातुनको घाँटी थिचि हत्या गरेका थिए । हत्या पछि फरार रहेका उनलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपशे खरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उस्मानलाई उनकै घरबाट पक्राउ गरेको हो ।
घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा उस्मानलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका उस्मानमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।