• २०८३ असोज २० गते मङ्गलवार

‘राजतन्त्र आउँदैन’: काँग्रेस सभापति देउवा

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ३०, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता सङ्घीय गणतन्त्रको पक्षमा रहेकाले सडकमा नारा लगाउँदैमा अब राजतन्त्र नआउने बत९ाउनुभएको छ । नेपाली काँग्रेसले सोमबार ७७ वटै जिल्लामा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो, ‘‘राजा आऊ देश बचाऊ भनेर सडकमा नारा लगाउँदैमा राजतन्त्र आउनेवाला छैन र आउने अवस्था पनि छैन ।’’

उहाँले राजा आऊ देश बचाऊ भन्दै सडकमा गरिएको प्रदर्शनको औचित्य समाप्त भएको दृष्टान्त औँल्याउनुभयो । विगतमा जनताको अधिकार जनतालाई नै दिऊँ भन्दा तत्कालीन राजाले आफूलाई थुनेको चर्चा गर्दै सभापति देउवाले वर्तमान सरकारको कामजोरीले पूर्व राजाका समर्थक सडकमा आएका बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै दलित, जनजाति, विपन्न लगायतका अधिकारलाई समृद्ध र उनीहरूको पक्षमा काम गर्ने दायित्व काँग्रेसमा आएको सभापति देउवाको भनाइ छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई बिना सर्त काँग्रेसले सहयोग गरेको स्मरण गराउँदै सभापति देउवाले विपक्षीप्रति सरकारले दमनको नीति लिएपछि सडकमा आउन बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले बलात्कारका घटना बढेका, कोरोनाका सामग्री खरिदमा पनि भ्रष्टाचार भएको बताउँदै सरकारका मान्छेहरू नै ती घटनामा संलग्न रहेको आरोप लगाउनुभयो । उहाँले हत्या र बलात्कारका घटनाका दोषीलाई पक्राउ गर्न सरकार असफल भएको दोषारोपण गर्नुभयो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनता कोरोनाको मारमा परेको समयमा सरकार सत्ताको जित–हारमा लागेको बताउँदै सरकारका कारण जनतामा निराशा बढेको छ भन्नुभयो । काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले सरकारले महिला, किसान, उद्योगी, व्यापारी, मजदुरको पक्षमा काम गर्न नसकेको चर्चा गर्नुभयो । बागमती प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता एवं काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पूर्व राजाले जनताको हित र अधिकार विरुद्ध काम गरेकाले राजतन्त्र समाप्त भएको औँल्याउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस