कार्तिक २८, काठमाडौँ। कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भएपनि संविधानमा भएको व्यवस्था अनुरुप नेपालमा कुनैपनि घटनामा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।
यौंन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको गुनासो गर्नुभयो । यौनहिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको बताउनुभएको छ ।
बलात्कारजन्य घटनाहरुमा समाजभित्रै मेलमिलाप गर्ने गरिएको उल्लेख गर्दै उहाँले यौंन हिंसा सम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने बताउनुभयो । मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको उहाँले औंल्याउनुभयो ।