असोज २७, काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित भर्चुअल समारोहमा सम्बोधन गर्दै उहाँले सरकारको प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक रहेको औल्याउनुभयो ।
उहाँले भन्नुभयो, आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई अझ विस्तार गर्ने र उठाउने दिन हो । हाम्रा प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक छ । एकअर्काबीचको समन्वय र सहकार्यमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले मुलुकका साधनस्रोत परिचालन गरी रोजगारी सिर्जना गर्दै सुशासन र जवाफदेही बनाउने कार्यमा विपद् व्यवस्थान न्यूनीकरण कार्यक्रमलाई जोडेर लैजाने नीति र कार्यक्रम बनाउनुपर्छ भन्नुभयो । नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्कीले विपद् जोखिमका घटना बढिरहँदा नेपालगायत विकासन्मुख मुलुकले ठूलो नोक्सान ब्यहोर्नुपरेको हुँदा बनाइएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।