काठमाडौँ, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाव दिएका छन् । अविश्वासको प्रस्तावको नेतृत्व गरिरहेका प्रदेश सभा सदस्य यामलाल कँडेललाई टेलिफोनमार्फत उक्त सुझाव दिएका हुन् ।
अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाबारे आफूलाई सोधनी भएको र सो क्रममा उक्त प्रस्ताव अगाडि नबढाउन सुझाव दिएको नेम्वाङले बताएका छन् । नदेखिनुपर्ने समस्या देखिइसकेपछि चाँडो समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गरेको र चाँडै समाधान निस्किने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै कर्णालीमा ल्याइएको अविश्वासको प्रस्तावलाई राजनीतिक अराजकता भनिसकेका छन् ।