• २०८३ बैशाख १० गते बिहिवार

यमपञ्चक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २७, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्नेछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो। कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । मङ्सिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मङ्सिर १ गते नै गरिन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन जना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो ९पञ्चाङ्ग० ले पनि मङ्सिर १ गते भाइटीका उल्लेख गरेका छन् ।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले समितिको स्वीकृतिमा प्रकाशन गरेको पात्रोमा मङ्सिर १ गते भाइटीका मनाउनुपर्ने उल्लेख छ । यो समुदायका तीनै जना पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पात्रोमा उल्लेख गर्नुभएको छ । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस