• २०८३ जेष्ठ ३१ गते आइतवार

मुम्बईलाई पाँचौँ पटक आईपीएलको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक २६, मुम्बई । मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी . ट्वान्टी क्रिकेटको उपाधि हात पारेको छ । युएईको दुबईमा मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे । उनी १७ औं ओभरमा नोर्कियाको बलमा ललित यादवको उत्कृष्ट क्याचसँगै पेभेलियन फर्केका थिए । युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए । मुम्बईलाई ओपनर रोहित र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए । स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवले ४५ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पाँचौ बलमा कप्तान रोहितले तालमेल गर्न नक्दा सूर्य १९ रनमा रन आउट हुन पुगे । सूर्यले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । काइरान पोलार्ड ४ बलमा २ चौकासहित ९ रन जोड्दै कागीसो रबाडाको बलमा बोल्ड भए । दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १र१ विकेट लिए ।त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त रहेन।

विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए । दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली यस अघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस