• २०८३ असोज २६ गते सोमवार

थप चार जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २५, काठमाडौँ । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना, दाङका एकजना र चितवन मेडिकल कलेजमा एक जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कार्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका ९ ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उनको मृत्यु भएको हो । यता दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

बाँकेका अस्पतालहरुमा बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३२ पुगेको कोभिड संकट व्यवस्थापन केन्द्र बांकेले जनाएको छ । कोरोना संक्रमणबाट चितवनका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका १९ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाँ, सुगर, प्रेसरसम्बन्धी समस्या भई कात्तिक १९ गते अस्पताल भर्ना भएका उनको २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।कोभिड आईसीयू कक्षमा उपचाररत उनको गएराति ८:१८ बजे मृत्यु भएको प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस