• २०८३ बैशाख ३१ गते बिहिवार

फाल्गुनन्द धार्मिक, समाज सुधारक तथा कुशल अर्थविद् : राष्ट्रपति भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २५ , काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

वि. सं.१९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि। सं। २००५ सालमा भएको थियो । उहाँले जीवनको अन्तिम समयसम्म किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएको थियो । किरात धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरीका साथै किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उनी जन्मिएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस