कार्तिक २५, बैतडी । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी उनको चितुवाको आक्रमणबाट मृत्यु भएको किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो।
घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
यहाँको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिलेसम्म २७ को ज्यान गइसकेको छ ।
आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । चितुवाले केही दिन शिवनाथसँग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छेको ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुनसक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिए ।