असार २६, नवलपुर । नेपाल भूतपूर्व सैनिक संघ नवलपुरले आज विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्दा भूतपूर्व सैनिक दोहोरो मारमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत गृह मन्त्रालयलाई नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति नवलपुरले ज्ञापन पत्र वुझाएको हो ।

भारतीय र वेलायती सैनिकको कोरोना भाईरस महामारीको वेला सैन्य पद अनुसार नेपाली रु ६० हजार रूपैयाँदेखि डेढ लाखसम्म निवृत्तिभरण सुविधाबाट कटौती गरेको र नेपाल सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता पनि कटौती गरिदिएको उनीहरुले जनाएका छन्। यसरी दुवै तिरबाट सुविधा कटौती हुदा दोहोरो मारमा परेको भन्दै नेपाल सरकारको निर्णय फिर्ता माग गर्दे शुक्रबार जिल्ला प्रशासन प्रमुख पिताम्वर घिमिरे मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाएको हो ।
ज्ञापन पत्रमा नेपालको यस पूर्व सैनिक समुदायले सरकारलाई रेमिट्यान्स मार्फत अर्वौँको सहयोग गरी आएको वर्गलाई नेपाली नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्दा अन्य नागरिकलाई भन्दा हामीलाई विभेद गरेको अनुभूति भएको उल्लेख गरेकोे छ। ज्ञापन पत्रमा भूपू शैनिकको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन आवश्यक पहल गरिदिनु हुन अनुरोध गरिएको छ ।यस्तै गरी कटौती भएको सामाजिक सुरक्षा भत्ता उपलव्ध नगराए देशभरका पूर्व सैनिक सडकमा उत्रने चेतावनी समेत दिईएको छ ।
नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति नवलपुरका सभापति सुवेदार मेजर लाचन श्रेष्ठको नेतृत्वमा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सभापति कर्नेल धन वहादुर मास्की राना, जिल्ला सचिव क्याप्टेन लेख नाथ तिवारी, नेपाल भूपू सैनिक संघ महिला विभागका केन्द्रीय सभापति लिला मास्की राना र केन्द्रीय सदस्य तथा जिल्लाको कोषाध्यक्ष सुवेदार मेजर प्रेम वहादुर राना लगायतको उपस्थितमा ज्ञापन पत्र वुझाएको छ । जिल्ला प्रशासन प्रमुख पिताम्वर घिमिरेले उक्त पत्र गृह मन्त्रालयमा छिटो भन्दा छिटो पुर्याईदिने बताउनु भएको छ ।