• २०८३ जेष्ठ ४ गते सोमवार

अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, एजेन्सी । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी बुधबार बिहान काबुलमा बम हमला भएको छ । घटनामा उनी सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् । विस्फोटमा परेर हालसम्म १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ ।

सहरी क्षेत्रमा कुनै कारवाही नगर्ने अमेरिकासँग सहमति गरेको तालिवानले घटनामा आफू जिम्मेवार नभएको बताएको छ । विस्फोटपछि फेसबुकमा भिडियो पोष्ट गर्दै देब्रे हातमा पट्टी बाँधेका सालेहले कार्यालय जाने क्रममा आफ्नो कारकेडमाथि आक्रमण भएको जानकारी दिएका थिए । ‘म ठीकै छु तर मेरा सुरक्षाकर्मी घाइते भएका छन् । मसँग मेरो छोरा पनि कारमा थियो, उनी पनि सुरक्षित छन् । मेरो हात र अनुहार केही जलेको छ । निकै शक्तिशाली विस्फोट थियो,’ उनले भने ।

तालिबानका प्रखर आलोचक रहेका पूर्वगुप्तचर प्रमुख सालेहमाथि धेरैपटक प्राणघातक आक्रमण भएका छन् । गत वर्ष राष्ट्रपतीय निर्वाचनअघि उनको कार्यालयमा भएको विस्फोटमा २० जना मारिएका थिए । उनले भने प्रत्येक पटक बच्दै आइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस