• २०८३ बैशाख ३० गते बुधवार

चिसोमा गिजर, हिटर र मकलको जोखिम : उपत्यकामा एक महिनामा तीनको मृत्यु

पढ्न लाग्ने समय : ३ मिनेट

पौष २१, काठमाडौं । तलका घटना शरीरलाई न्यायो बनाउने ध्याउन्नमा सामान्य सावधानीसमेत नअपनाउन निम्तिएका उदाहरण हुन् । घटनाका पात्र र ठाउँ फरक–फरक छन्, तर परिणाम समान छन् । प्रहरीको तथ्यांकअनुुसार उपत्यकाभित्र मात्रै यस्ता घटना प्रत्येक वर्ष ६ देखि ८ वटा हुन्छन् । जसमा १० भन्दा धेरैले अकालमा ज्याउन गुमाउँछन् ।

  • कीर्तिपुर–८ सुन्दरबस्ती डेरा गरी बस्ने धादिङ नौबिसे–९ रुपाकोटका ४५ वर्षीय नवराज रन्जितकारले ३० मंसिरमा दुई महिनाकी सुत्केरी श्रीमतीलाई सेक्न कोठाभित्र कोइला बाले । बाहिरबाट चिसो नआओस् भनेर झ्यालढोका पनि थुने । त्यसपछि श्रीमानश्रीमती दुवै मिलेर काखे बालकलाई सेकाए । कोइलाको राप ननिभ्दै खाना खाए र सुते । कोइलाको न्यानोले छिट्टै निदाएका नवराज एकैचोटि भोलिपल्ट बिहान मात्रै ब्युँझे । ब्युँझिदा उनले टाउको दुखेको अनुभव गरे । आँखा पनि धमिलोधमिलो भएको थियो । तर, पनि सकी नसकी उठे । सँगै सुतेकी श्रीमती शर्मिलालाई पनि उठान खोजे । तर, उनी उठिनन् । छोरा रमेशलाई पनि झक्झकाए उनी पनि चलमलाएनन् । अघिल्लो रात बालेर छोडेको कोइलाका कारण कोठामा अक्सिजन कमी भएर दुवै आमाछोराको मृत्यु भइसकेको थियो ।
  • ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा बस्ने पर्सा जगनाथपुर–४ की १९ वर्षीया जेनेथ चौहान नुहाउन १९ पुसमा बाथरुम छिरिन् । तातोपानीका लागि ग्यास गिजर अन गरिन् । बाथरुमको झ्याल ढोका बन्द गरिन् । तातोपानीले बाथटपमा भरिन् र बाथटपको तातोपानीमा डुबुल्की मरिन् । ११ बजे बाथरुम छिरेकी उनी निक्कै बेरसम्म पनि बाहिर ननिस्केपछि खोजी भयो । यो खबर होस्टल वार्डेनसम्म पुग्यो । होस्टल वार्डेनसहित उनका सहपाठी बाथरुमको ढोका ढक्ढकाउन थाले । तर, खुल्दै खुलेन । अन्ततः बाथरुमको झ्याल फोडियो । भित्र हेर्दा जेनेथ ढलेको अवस्थामा भेटिइन् । उपचारका लागि उनलाई तत्काल अस्पताल लगियो । तर, उनको उपचार हुन सकेन ।
  • गत शुक्रबार भक्तपुर सूर्यविनायक दधिकोटकी ६७ वर्षीया रेणुकाकुमारी बाँस्तोला जाडो भगाउन कोठामै आगो ताप्दै थिइन् । यही क्रममा उनको फरियामा आगो सल्कियो । निभाउन खोज्दा झनै दन्कियो । नजिकै थिए उनका ३५ वर्षीय छोरा राजेन्द्र बाँस्तोला । उनले दन्किएको आगो हातको पन्जाले निभाउन खोजे । आगो झनै दन्कियो । बल्लतल्ल आगो नियन्त्रणमा आयो । यस वेलासम्म रेणुको आधा शरीर जलिसकेको थियो । आगो निभाउने राजेन्द्रको पनि दुवै पन्जा डडिसकेका थिए । रणुको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सामान्य उपचारपछि राजेन्द्र भने घरमा आराम गरिरहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जाडोको वेला शरीर न्यानो बनाउने सुरमा सावधानी नअपनाएकै कारण यस्ता घटना प्रत्येक वर्ष हुने गरेको बताए । उनले भने, ‘जाडो छ शरीरलाई न्यायो बनाउन खोज्नु स्वाभाविक हो । तर, यसमा हामी सावधानी अपनाउदैनौँ । कोठा तताउन माकल बाल्छौँ । तर, झ्याल ढाका पूरै बन्द गर्छौैँ । अक्सिजन छिर्दैन । सोही कारण ज्यानै जान्छ ।

कीर्तिपुरमा भएको त्यही हो ।’ प्रहरीका अनुसार कोठा तताउन सर्वसाधरण रातभर हिटर बालेर सुत्छन् । हिटर कपडामा सल्किन्छ । अनि दुर्घटना हुन्छ । गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष काठमाडौं उपत्यकामा मात्रै आगलागीका कारण पाँचजनाको मृत्यु भयो भने ७५ जना घाइते भए । घटनाबाट एक सय ९१ जना प्रभावित बने । जसकारण १६ करोड ५७ लाख ३८ हजार नौ सय १५ रुपैयाँबराबरको सम्पत्ती नष्ट भयो ।

 अपनाऔँ सावधानी
शुक्रराज ट्रोपिकल अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार झ्याल ढोका बन्द गरेर धेरै समयसम्म आगो ताप्दा कार्बन मनोअक्साइट उत्सर्जन हुन्छ । यसले रगतमा अक्सिजनको मात्रा कम गराउँछ । जसकारण मानिस बेहोस हुन्छ । यही क्रममा मुटुको चाल बन्द भई मृत्यु हुन्छ । यसबाट बच्न लामो समयसम्म बन्द कोठामा आगो ताप्नु भएन । तापे पनि झ्याल ढोका खुल्लै राख्नुपर्छ । घटना भइहाले तत्काल उपचारका लागि अस्पताल जानुपर्छ । यो समाचार नँया पत्रिकाका लागि टेकराज थामीले तयार पारेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस