कार्तिक, २३ काठमाडौँ। विश्वमा महामारिको रुपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि बनेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । सीसीएमसी निर्देशक समितिको १४ औं बैठक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आइतबार सम्पन्न भयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकले मन्त्रिपरिषद बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गरेको केन्द्रका सचिब महेन्द्र गुरागाईले जानकारी दिनुभयो । बैठकले गरेको सात वटा निर्णयहरु आगामी मन्त्रीपरिषद्को बैठकमा लैजाने निर्णय भएको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएमा उक्त निर्णयहरु कार्यान्वयनमा आउनेछन् ।
सीसीएमसीको आजको बैठकले गरेका सात वटा निर्णयहरु निम्नानुसार छन्,
१. धेरै जसो संक्रमतिहरु होम आइसोलेशनमा रहेकाले स्वास्थ्य परामर्श तथा अन्य सहजिकरणको लागि वडागत रुपमा स्वास्थ्यकर्मी मार्फत गर्ने जसको लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निर्देशन दिने,
२. कुटनैतिक नियोगका कर्मचारी तथा आफन्तलाई आवातजावत गर्न छुट दिने,
३. हालसम्म रोजगारीको लागि विदेश गई अलपत्र परीका १ लाख ३६ हजार ३ सय १६ जनाको उद्धार गरिएको र अब दुतावासबाट प्राप्त जानकारी अनुसार उद्धार गर्नुपर्ने अवस्था नभएकाले उद्धार उडाहरु नगर्ने, नियमित उडान मार्फत समायोजन गरी स्वदेश ल्याउने,
४. स्थल मार्गहुँदै भारतबाट नेपाल प्रवेश गर्न १३ वटा नाकाबाट खुल्ला गरिएकोमा अब बैतडी जिल्लाको झुलाघाटबाट थप गरी १४ वटा नाकाहरु खुल्ला गर्ने,
५. उपयुक्त मुलुकको लागि हवाई उडान खुल्ला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रायलले व्यवस्था मिलाउने,
६. पर्यटकीय क्षेत्रलाई खुल्ला गर्ने अनुमति प्रदान गर्ने,
७. विदेशमा विभिन्न कारणले मृत्यु भएका नेपालीको शव व्यवस्थापन सम्बन्धीत मन्त्रालयले समन्वय गरी व्यवस्थापन गर्ने ।