• २०८३ जेष्ठ २१ गते बिहिवार

नख्खु जेल विद्रोहका नेता लामाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २३, काठमाडौं । नख्खु जेल विद्रोहका नेता तथा पूर्व सांसद वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी ७० वर्षीय लामाको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ फोखल निवासी लामाको रच्च रक्तचाप र मधुमेह रोगका कारण दुवै मिर्गौलाले काम नगर्ने भएपछि पछिल्लो पटक कात्तिक १४ अस्पताल भर्ना गरिएको थियो । वि.सं. २०४९ सालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरको सभापति र २०५६ सालमा मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको सदस्यमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । तत्कालीन कोअर्डिनेशन कमिटीमा आबद्ध हुँदै कम्युनिष्ट राजनीतिमा लाग्नुभएका लामा आन्दोलनमा सहभागी हुने क्रममा नख्खु जेलमा पर्नुभएको थियो । चर्चित नख्खु जेल विद्रोहका नेताहरुमध्येका एक लामासहितका २०३३ साल चैत १२ गते राति नख्खु जेल ब्रेक गरेर बाहिर निस्किएर भूमिगत राजनीति गर्नुभएको थियो ।

नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा तत्कालीन नेकपा (एमाले) केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ नेकपा एमालेबाट अलग हुँदै अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा आबद्ध हुनुभयो । सङ्घीय समाजवादी पार्र्टी र उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकीकरण भएपछि उक्त पार्टी परित्याग गरेर रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको वरिष्ठ नेता बन्नुभएकोमा पछिल्लो समय राजनीतिमा खासै सक्रिय रहनुभएको थिएन ।

Sharing

प्रतिक्रिया दिनुहोस