• २०८३ बैशाख ९ गते बुधवार

सडकमानवहरुको दिगो व्यवस्थापनको लागि स्थायी भवन बनाउँदै काठमाडौं महानगर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २३, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कोही भोकै नरहुन्, भोकले कोही नमरुन् भन्ने भावनालाई आत्मसाथ गरी धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण हुने भएको छ । उक्त भवनको निर्माण भइसकेपछि ३०० जना काठमाडौं महानगर सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुले एक पटकमा सेवा लिन सक्नेछन् ।

करिब ७ करोड अनुमानित लागत रहेको भवनको निर्माण खर्च काठमाडौं नगरपालिकाले बेहोर्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । उहाँले काठमाडौं महानगरपालिका बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको मानवोचित व्यवस्थापन सन्दर्भमा अत्यन्त संवेदनशिल रहेको बताउनु भएको छ । फरक सन्दर्भमा बोल्दै उहाँले हाल खुला मञ्चमा सञ्चालन भइरहेको भोजनवितरण कार्यक्रमलाई व्यवस्थित र सम्मानजनक बनाउन काठमाडौं महानगरपालिकाले सहयोग गर्न चाहेको भएपनि बाहिर फरक किसिमको हल्ला चलेको बताउँदै महानगरभित्र वास्तविक सहयोगापेक्षी भेटीए तत्काल व्यवस्थापन हुने बताउनु भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका, तारकेश्वर नगरपालिका र मानवसेवा आश्रम वीच त्रिपक्षीय बैठक सम्पन्न भई मानवसेवा आश्रमको स्थायी भवन निर्माण गर्ने निर्णय भएको हो । काठमाडौं महानगरपालिका र परोपकारी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रमले हाल काठमाडौंका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनका कार्यहरु गराउँदै आइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको सभा अध्यक्षतामा भएको बैठकमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, दुवै पालिकाका प्रशासकिय प्रमुख, विभागीय प्रमुखहरु र प्राविधिकहरु, तारकेश्वर नगरपालिका ३ नं. वर्डा कार्यालयका वडा अध्यक्ष, समाजसेवी प्रकाश अर्याल लगायतको उपस्थिति रहेको थियो । वैठकले तारकेश्वर नगरपालिका ३ नं. मा (साविक जितपुरफेदी ४) मानवसेवा आश्रमको स्थायी भवन धर्म भक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने निर्णग गरेको हो ।

काठमाडौं महानगरपालिका कानुन विभागका निर्देशक बसन्त आचार्यले सञ्चालन गर्नुभएको बैठकमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो भनाई राख्नुभएको थियो भने काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य ई। सजिव शाक्यज्युले निर्माण हुने भवनको प्रस्तावित ड्रईङ र डिजाई प्रस्तुत गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस