बैशाख २६, दाङ्ग । नेपाल सरकारले आव्हान गरेको जारी लकडाउनका कारण दाङ्ग देउखुरीका इटा उद्योगहरु धराशायी हुने अवस्थामा पुगेका छन् । दाङ्ग जिल्लाको दक्षिणी पूर्वी देउखुरीमा अवस्थित गढवा गाउँपालिका वडा नम्बर १, जेठान गाउँमा रहेको एक इटा उद्योग पनि त्यस्तै अवस्थामा पुगेको उद्योगका व्यवस्थापक कृष्णप्रसाद शर्माले उद्योग बारेमा दुखेसो पोखेका छन् ।
एक वर्ष अगाडि २ करोडभन्दा बढीको लगानीमा कृष्ण फिक्स चिम्नी ब्रिक उद्योग स्थापना भएको थियो । स्थानीय सरकारले भारतबाट ल्याउने कोइला लगायतका सामानहरु ल्याउनमा वातावरण मिलाइदिएमा उद्योग सञ्चालनमा केही सहज हुने उद्योगी सम्भुनाथ योगीको भनाइ रहेको छ । दैनिक रूपमा १ लाख जति इटा उत्पादन गर्दै आएको उक्त उद्योग हाल जारी लक डाउनका कारणले कामदारहरुलाई उत्पादन बिना पनि पाल्दै आइरहेको छ । विशेषगरी भारतबाट आएका कामदारहरुलाई उनीहरूकै घरमा पठाउन सकेमा मात्र पनि उद्योगलाई र ती कामदारहरुलाई धेरै सहज हुने कुरामा उद्योगका मालिक र कामदारहरुको समान बिचार रहेको छ ।
नेपाल सरकारले गाडीको व्यवस्थापन मिलाएर घरमा पुग्ने वातावरण मिलाइदिएमा आफूहरू घर जान तयार रहेको उद्योगमा काम गर्ने एक भारतीय कामदारले हाम्रा सञ्चार माध्यम मार्फत सरकारलाई आग्रह गरेका छन् । लगातारको वर्षातले बनाएर राखिएका इटाहरु गलेर नोक्सान हुने त छदैछ । त्यसमा पनि यो लक डाउनले उद्योग बर्बाद भएको छ, व्यवस्थापक शर्माले दुखेसो पोखे । बर्षातको पानीका कारणले मात्र झण्डै ३० लाख बराबरको इटा नोक्सानी भएको र त्यसमा यो लक डाउनले झन् पीडा थपेको उद्योगी योगीको गुनासो छ ।