चैत २६, दाङ । सङ्कट र अप्ठ्यारो समयमा नआत्तिन र धैर्यता गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । कोभिड १९, नोवेल कोरोना भाइरसबाट सुरक्षित रहनका लागि नै जे जस्तो समस्या र दुख सहनुपरे तापनि त्यो नै सबैका लागि ठूलो उपलब्धि हुने उनको सल्लाह छ ।
देशका अन्य भागमा जस्तै दाङका नागरिकहरुले पनि सरकारले आव्हान गरेको लक डाउनलाई अत्यन्तै साहसका साथ दुखकष्ट सहेर पूर्ण रूपमा पालना गरेकोमा खुशी व्यक्त गरे । लकडाउन शव्दको अर्थ नै आफूलाई आफैंले बन्द गरेर बस्नु हो, यस्तो अवस्थामा प्रशासन तथा अरु कसैले पनि दवाव दिन मिल्दैन प्रजिअ रिजालले स्पष्ट पारे ।साथै लक डाउनमा घरमै बसेका नागरिकहरुलाई विभिन्न सरोकारवालाहरुसङ्ग सहकार्य गरेर दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुहरुको आपूर्तिमा सहजता ल्याउने बताएका छन् । कोरोना भाइरसका कारणले सङ्क्रमण भएर ठूलो जनधनको नोक्सान व्यहोर्नुभन्दा त बरु यस्तै दुखसुख सहेर भएपनि त्यो नोक्सानीबाट बच्नु नै हाम्रो लागि महान विजय हो, प्रजिअ रिजालले सबै माम नागरिकलाई आग्रह गरे ।
आफ्नो सुरक्षाका लागि आफैंले स्वस्थताका नियमहरु पालना गर्न सबैलाई सुझाव दिदै रिजालले यस्तो अत्यन्तै कठिन र सङ्गिन परिस्थितिमा पनि आफ्नो जीउधनको प्रवाह नगरीकन आम नागरिकहरुको सेवा र सुरक्षामा अहोरात्र खट्ने सञ्चारकर्मि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आफू सुरक्षित रहेर कार्य सम्पादन गर्नुपर्ने सल्लाह दिएका छन् ।