• २०८२ जेष्ठ ३० गते बिहिवार

जनताले खाजेको विकास बाहेक मेरो अरु कुनै स्वार्थ छैन : सांसद बस्नेत

खबर24नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

शिलन्यास कार्यक्रममा बोल्दै उहाँले विकासमा पिछडिएको र दुर्गम मानिने सूर्यविनायक नगरपालिका क्षेत्रमा अहिले विकासमा क्रान्ति आएको बताउनुभयो । सांसद बस्नेतले चुनावमा भोट माग्दा आमजनताले सडक, ढल र खानेपानीको माग गरेको बताउँदै आफ्नो कार्यकालमा जनताको यो मागलाई पुरा गर्ने गरि विकासमा क्रान्ति ल्याएको बताउनुभयो ।

“यो वर्ष मात्रै साना १० वटा र ठूला ६ वटा पुल बनिरहेका छन्, भक्तपुर जिल्लामा हाम्रो पहलमा गतवर्षदेखि अहिलेसम्म २९ वटा पुल निर्माणको काम अगाडि बढाएका छौ”—नेकपाका केन्द्रीय सदस्य एवं युवा संघका केन्द्रीय इन्चार्ज समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो—“विहान उठेदेखि राती नसुतेसम्म जनताको विकासको काम लिएर हिडिरहेको छु, जनताले खाजेको विकास बाहेक मेरो अरु कुनै स्वार्थ छैन ।”

सूर्यविनायकको मूल सडकको रुपमा ललितपुरको बालकुमारीबाट बालकोट, चित्रपुर हुँदै रानीकोट जाने सडक निर्माणमा रु. ४० करोड, पात्लेटारमा रु. २ करोड ५० लाख, कटुञ्जे सिरुटार हुँदै लुभु जाने सडकमा पुल समेत गर्दा रु. ७ करोडको लागतसँगै सूर्यविनायक गुण्डु, थिमि बालकोट, जगाती सिपाडोल लगायत सडकहरुको निर्माण कार्य भईरहेको र सडक डिभिजन कार्यालय मार्फत मात्रै ३५ करोडका विभिन्न सडकहरु निर्माण अगाडि बढेको उहाँले बताउनुभयो । राम्रो कामको जनताले मूल्याङ्कन गर्ने भएकाले केही जन्मदै बिरोधी मानसिकता लिएर आएकाहरुको विरोधको बेवास्ता गर्दै जनताको सुझावलाई लिएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका सदस्य शशीजंग थापाले कौशल्टार, बालकोट सिरुटार सडक खण्ड अन्तर्गत बालकोटसम्म सकिएको र अर्को आ.बमा सिरुटारको सडक विस्तार कार्य सम्पन्न गर्ने बताउनुभयो । उहाँले संघीय, प्रदेश र स्थानीय बजेटले आगामी दुईवर्ष भित्र पक्कि सडक, ढल र खानेपानीको पहुँच सबै नागरिकको घरघरमा पुग्ने गरि विकासका कामहरु अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेतले गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरि समय मै पुल निर्माण हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सूनपा १ का वडा अध्यक्ष सानुकाजी कायस्थले उक्त पुलका लागि कूल रु. १ करोड २६ लाख १८ हजार बजेट लागत अनुमान गरिएकोमा भ्याट बाहेक ७० लाख ४७ हजारको लागतमा आठ मिटर लम्बाई र १०.५ मिटर चौडाई रहेको पुल निर्माणको ठेक्का भएको जानकारी दिनुभयो ।

वडा नं. ४ का वडाअध्यक्ष उत्तम थापा, इन्जिनियर रुद्रप्रसाद काफ्ले, वडा सदस्य प्रदीप कार्की लगायतले चालू आ.ब. भित्रै पुल निर्माण सम्पन्न भएपछि गोदावरी भक्तपुर आवतजावतमा निकै छाटो बाटो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस