माघ २५, इलाम । राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता प्रक्रिया टुङ्याएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच एकतापछि दुई पार्टीको युवा संगठन मिलेर बनेको राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता टुङ्याएको हो ।
साविक युवा संघ नेपालबाट ३७ जना र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) बाट ३४ जना गरी एकतापछि राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी ७१ सदस्यीय बनेको छ । नयाँ कमिटीका सदस्यले फागुन ५ गते शपथग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ इलामका संयोजक महेश तिवारीले जानकारी दिए ।
संघले जिल्लामा एकता प्रक्रिया लगाएसँगै इलामका १० वटै स्थानीय तहमा संयोजक र सह–संयोजक तोकेको छ । १० स्थानीय तहमध्ये साविक युवा संघले ७ र वाईसीएलले ३ स्थानीय तहको संयोजक पाएका छन् ।