• २०८३ जेष्ठ १७ गते आइतवार

विवादका बीच स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्या समाधान मुख्य एजेन्डा

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २२, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किँदै आइरहेको विवादकै बीच आइतबार स्थायी कमिटीको बैठक बसेको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । सो बैठकले पार्टीभित्र देखिएको समस्या र संकटको सही समाधान गर्ने विश्वास आम कार्यकर्ताले गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरूलाई दिइएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीभित्रको समस्या र समाधानबारे छलफल गर्ने कार्यसूची पारित गरेको बताए । यस्तै यसअघिका सचिवालयमा पेस भएका अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रस्ताव र पत्रसमेत स्थायी कमिटीका सदस्यलाई दिइएको उनले बताए ।

अध्यक्ष दाहालले अहिलेको विशिष्ट, गम्भीर र संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई केन्द्रमा राखेर संकटलाई सकारात्मक ढंगले समाधान गर्ने गरी छलफल अघि बढाइने बताए । उनले छलफललाई गम्भीर र व्यापक रूपमा अगाडि बढाउन अपिल गरेका छन् । बैठकले अध्यक्षद्वयको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिएको छ । पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य जारी नै रहने प्रवक्ता श्रेष्ठले बताए ।

स्थायी कमिटीको बैठक २८ मंसिरमा बस्ने निर्णय भएको छ । बैठकले २५ मंसिरका लागि तोकिएको केन्द्रीय कमिटी बैठक अब ५ पुसमा बस्ने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली बैठकमा अनुपस्थित भएपछि बैठकको अध्यक्षता दाहालले गरेका थिए । बैठकको सुरुमै सविचालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको पत्र पढेर सुनाएका थिए । पत्रमा ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउन नसक्ने जानकारी गराएका छन् । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा शशरीर उपस्थित नभए पनि उनी पत्रमार्फत सहभागी भएको बताएका छन् । ‘अध्यक्ष सशरीर उपस्थित नभए पनि बैठकमा पत्र पठाउनुभएको छ । पत्र पठाएपछि त सहभागी भएकै बुझिन्छ,’ रावलले भने ।

आगामी २८ मंसिरमा बस्ने स्थायी कमिटी र ५ पुसमा बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टीभित्रको समस्या समाधान गर्न गम्भीर छलफल हुने बताउँदै उनले ती बैठकमा पार्टीमा उठेका विषयमा ‘बोल्ड’ निर्णय गर्ने बताए । ‘पार्टीमा उठेका विषयमा बोल्ड निर्णय गर्छौं । पार्टीलाई अनिर्णयको बन्दी बनाउँदैनौं । छलफलका क्रममा लचकता अपनाउने ठाउँमा अपनाउँछौं तर यथोचित निर्णय गरेर जान्छौं,’ उनले भने । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस