कात्तिक २२, काठमाडौँ । दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांकमा रहेको छ ।
उनीहरूबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम बुझ्नेहरूले रकम फिर्ता गरेको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए । एउटै लाभग्राहीले गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएको पाइयो,’ उनले भने, ‘यो कुरा थाहा पाएर ताकेता गरेपछि रकम फिर्ता भएको हो ।’ उनका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन् ।
लाभग्राहीले घर बनाउन पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाउँछन् । पहिलो किस्ता, दोस्रो किस्ता र तेस्रो किस्ता गरि सम्पूण नक्कली भूकम्पपीडितहरुले फिर्ता गर्ने छन् । यसबाट ११ करोड रुपैयाँ फिर्ता भएको हो ।