• २०८३ बैशाख २० गते आइतवार

सम्पर्कमा नआएका निर्माण व्यावसायीलाई कालोसूचीमा राखेर कारवाहीः मन्त्री नेम्वाङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २१, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कुनै पनि आयोजनाको जिम्मा लिएर प्रगति नभएको तथा सम्पर्कमा नआएका निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारवाही गर्नुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमित हुनुभएका मन्त्री नेम्वाङ ‘होम आइसोलेशन’बाटै मन्त्रालयअन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे आयोजित भर्चुअल बैठकमा सहभागी हुँदै उहाँले निर्माण व्यावसायीलाई जिम्मेवार बनाउनुपर्नेमा जोठ दिनुभयो ।

मन्त्रालय, विभाग, आयोजनाले पनि निर्माणका काम भइरहेका स्थानमा अनुगमन बढाउनुपर्ने उहाँको जोड छ । उहाँले निर्माण व्यावसायीलाई जिम्मेवार बनाउनुपर्ने जनाउँदै भन्नुभयो, “८०र९० प्रतिशत प्रगति भएकालाई काममा लगाउन सकिएला तर प्रगति नभएका र सम्पर्कमा नआएकालाई कालोसूचीमा राखेर कारवाही अघि बढाउनुपर्छ ।” मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिनुभएको छ । ती ठेक्कामा भएको ढिलाइबारे बुझेर समाधान निकाल्नुपर्ने बताउनुभयो । मन्त्री नेम्वाङले गत वर्षभन्दा चालु आवको अन्त्यसम्ममा भौतिक र वित्तीय गरी दुवै प्रगति बढाउनुपर्नेमा जोड दिनुभयो । पहिलो चौमासिकमा वर्षा, चाडपर्व र कोभिडका कारण काममा बाधा पुगेको उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कुनै पनि योजनामा रहेका समस्या अन्तरमन्त्रालय सम्वादमार्फत हल गर्न सकिने भए आफूले तत्काल पहल गर्ने बताउनुभयो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभिन्न आयोजनामा राम्रो काम भइरहे पनि कतिपयमा अपेक्षा गरेअनुसार हुन नसकेको औँल्याउनुभयो । चालु आवको पहिलो चौमासिकमा मदन भण्डारी राजमार्ग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, नागढुङ्गा सुरुङमार्गमा भौतिक प्रगति रहेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमालले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्नका लागि कार्ड खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । रेल विभागकी महानिर्देशक प्रमिलादेबी बज्राचार्यले पूर्व–पश्चिम विद्युतीय रेलमार्गका विभिन्न खण्डमा रहेका समस्या समाधान स्थानीय तहसँगको समन्वयमा भइरहेको बताउनुभयो । प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले कोभिड(१९ को समयमा पनि सडक विभागको प्रगति आशालाग्दो देखिएको बताउनुभयो । यस्तो समयमा पनि पहिलो त्रैमासिकमा झण्डै १० प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाका सडक, सुरुङमार्ग निर्माण, राष्ट्रिय राजमार्गलगायतका आयोजनाको प्रगतिका बारेमा चासो राख्ने गर्नुभएको उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस