भदौ २१, काठमाडौं । भारतले आफ्नो मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लद्दाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ । भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३-९ जिआर र ४-१ जिआरका झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल–चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको मोर्चाको ठहर छ ।

‘नेपाल र नेपालीको निकटतम मित्र चीनका विरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पु¥याउने’ भन्दै उनले गोर्खा भर्ती सम्झौता तत्काल रद्द नगर्ने हो भने चीन र इन्डियाबीच अनपेक्षित रूपमा युद्ध भड्किएका खण्डमा नेपाल–भारतको पक्षबाट चीनविरुद्धको युद्धमा सामेल भएको मान्न कर लाग्ने प्रष्ट पारेका छन् । ‘तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।