कात्तिक २०, दैलेख । स्वास्थ्य सेवा कार्यालयमा किट नहुँदा शंकास्पद बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्न समस्या भएको छ । दुई दिनभित्र किट नआए दैलेखको पीसीआर ल्याब नै ठप्प हुने कार्यालयले जनाएको छ ।

किट अभावका कारण स्वाब संकलन र परीक्षण दुवैमा समस्या भएको हो । स्वास्थ्य सेवा विभागबाट भदौमा ल्याइएका दुई हजार किट तीन साताअघि नै सकिएका थिए । किट सकिएपछि दसैंको समयमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट दुई सय थान किट ल्याइएको थियो । किट अभावका कारण कार्यालयले दैनिक १२ जनासम्मको मात्र स्वाब लिने गरेको हो । दैलेखमा पीसीआर प्रयोगशाला स्थापना भएपछि साउन र भदौ महिनामा दैनिक दुई सय जनासम्मको स्वाब संकलन र परीक्षण भएको थियो । असोज लागेलगत्तै किटको अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख डा निरञ्जन पन्तले बताए ।किटकै अभावले दुर्गम गाउँमा स्वाब परीक्षणलाई तीव्रता दिन सकिएको छैन ।
स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय दैलेखमा लक्षणसहितका संक्रमितहरु बढ्न थालेका छन् । तत्काल पीसीआर परीक्षण गरिएका संक्रमितहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने र सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएका छन् ।जिल्ला अस्पतालको आइसोलेसन भरिभराउ र अस्पतालको आइसोलेसनमा २२ जनाको उपचार भइरहेको डा। पन्तले बताउनु ुभयो । दैलेख जिल्लामा अहिलेसम्म १ हजार ३ सय ८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ हजार २ सय ५३ जना उपचारपछि घर फर्किएका छन् ।