कार्तिक २०, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो ।
२०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्याङ्जा थुमपोखरा घर भई नवलपरासीको सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जबरजस्ती करणी मुद्दाका बालसिंह गुरुङ, जबर्जस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दाका छन् ।