कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले आफूले पदबाट राजीनामा नदिने प्रष्ट पार्नु भएको छ । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको भन्दै उनले राजीनामा नदिने बताउनु भएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भनेर हल्ला फैलिएको भन्दै अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान धकेल्नु हो भन्नुभयो । । उहाँले जनताको आवश्यकता र समर्थनले आफु प्रधानमन्त्री भएको भन्दै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पार्नुभयो ।
अस्थिरताको खेती गर्नेहरुले सरकारको जेमा पनि आलोचना गर्ने गरेको भन्दै देशको स्थिरताका लागि आफुले काम गरेको दावी गर्नुभयो । उहाँले अविश्वासको प्रस्तावको तयारी भइरहेको भन्ने सन्दर्भतर्फ लक्षित गर्दै आफू जालझेल र तिकड्मबाट प्रधानमन्त्री पदमा नआएको भन्दै जनताको आवश्यकता र व्यापक समर्थनबाट आएको बताउनु भयो ।
म यहाँ आएको जालझेल र तिकड्मबाट होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो , “जनताको आवश्यकता र व्यापक समर्थनबाट आएको हुँ। तपाईंहरु ढुक्कले काममा लाग्नुहोस्।’ उहाँले भन्नुभयो ‘धेरैले धेरैपल्ट धेरै प्रकारका पोलिटिक्स गरे। भित्र बाहिर अनेकथरीका कोशिसहरु आए। जे मा पनि आलोचना गर्ने प्रवृति छन्। त्यसबाट प्रभावित नहोऔं। एकथरीको यो अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयास गर्ने आदत छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो , “कोभिडसँगको लडाईं पनि जित्छौँ र गरिबीसँगको लडाईंलाई पनि जितेर समृद्धितर्फ जान्छौँ। विकृति र विसंगतीको लडाईविरुद्ध हामी हमला गरिराखेका छौँ। त्यसलाई पनि पराजित गरेर अगाडि बढ्छौँ।”