असार २०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक स्थगित भएकोछ । आन्तरिक छलफल गर्न समय लाग्ने भएकाले २२ गते सम्मको लागि स्थायी कमिटीको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । उक्त समयमा पार्टी भित्र भएको विवादलाई समाधान गर्ने प्रयास हुने बताइएको छ ।
हिजो अध्यक्ष द्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल बिच करिव ४ घण्टा पार्टी विवाद समाधान गर्न छलफल भएको थियो । तर समाधानको आधार भने तयार भएको थिएन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका स्थायी कमिटीका ३० सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि पार्टी भित्र ठूलो विवाद सुरु भएको थियो ।
जसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुवै पदबाट कुनै पनि हालतमा राजिनामा नदिने घोषणा गर्नुभएको छ । उहाँले राजिनामा नदिएपछिको विकल्प खोज्न आफु इतर समुहलाई चुनौति समेत दिइसक्नु भएको छ । उहाँले राष्ट्रिय हितको विपरितमा कुनै पनि निर्णय लिन नसक्ने भएकाले तत्काल दुवै पदबाट राजिनामा नदिने घोषणा गर्नुभएको हो ।
उहाँले आफुले राजिनामा दिए भारतसँग सीमाको विषयमा बोल्ने एउटा पनि नेता नहुने समेत दावी गर्नुभएको छ । प्रम ओलीले आफुभन्दा योग्य व्यक्ति आएमा तत्काल राजिनामा दिने तथा वर्तमान नेतृत्वमा रहेका व्यक्तिहरुले पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने समेत वताउँदै आउनुभएको छ ।
त्यस्तै प्रचण्ड, माधव, झलनाथ लगायतकाले दुवै पदबाट प्रम ओलीको राजिनामाको अर्को विकल्प नभएको बताउँदै आएका छन् । दुई समुहको अडान कायमै रहेमा पार्टी विभाजनको स्थिती सम्म पुग्ने देखिएको छ । पार्टी दुर्घटना हुन नदिन स्थायी कमिटीको बैठक दुई दिनलाई पछि सारिएको छ । यो विचमा दुई समुहबिच निर्णायक छलफल भई पुनः २२ गते स्थायी कमिटीको छलफल हुने भएको हो । स्थायी कमिटीको बैठक आज ११ बजेलाई तोकिएको थियो ।