पौष १९, सिराहा । सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह रु.१५,९६,०००।- घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।
सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनिहरु नविनकुमार साह र विरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।
सेवाग्राहीबाट रु. १५,९६,०००।–(पन्ध्र लाख छयानब्बे हजार) घुस लिइसकेको अवस्थामा कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।