कार्तिक १८, सप्तरी । सप्तरीका थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका र महादेवा गाउँपालिकाका एक एक जनाको मृत्यु भएको हो ।
हनुमाननगर कंकालीनी नगरपालिकाको साविक २ नम्बर जोगिनियाँ वार्ड नम्बर १ बस्ने ५८ वर्षीय मोरङ्ग जिल्ला स्थित शिक्षण पेशामा संलग्न पुरुष शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनलाई ज्वरो, टाउको दुखेपछि विराटनगर स्थित बिराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । कात्तिक १५ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि बिराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएको र त्यही उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो । उनि लामो समयदेखि सुगर, ब्लडप्रेसरबाट पीडित थिए ।
यस्तै सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ६ निवासी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर ३० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्यु भएको हो । बीपी अस्पतालको स्टाफ रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड कक्षमा थप उपचारको लागि व्यवस्था गर्दै गर्दा उनको मृत्यु भएको हो ।
मृतक दुबै जनाको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको बताइएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।