• २०८३ जेष्ठ २४ गते आइतवार

थप तीन जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौँ । दाङका थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा कोहोलपुरमा मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड १९ आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो तर बचाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ । यता पाल्पा र स्याङजाका थप एक एकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस