आश्विन १६, काठमाडौँ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले डाक्टर गोविन्द केसीले सत्याग्रह मार्फत जनताको माग उठाएकाले सरकारले वार्ता माफत समस्या समाधान गर्नुपर्ने बताए । पूर्व राष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिए ।

चिकित्सा क्षेत्रको सुधार लगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्व राष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका थिए । केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र आज अहिंसा दिवसको संयोग परेको पनि यादवले सुनाए । डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै पूर्वराष्ट्रपति यादवले राष्ट्रकै अमूल्य सम्पत्तिका रुपमा रहेका केसीको ज्यान बचाउन आग्रह गरे ।