भाद्र १७ , सप्तरी। सप्तरी जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २ .१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए ।
पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिनुभयो । काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको उहाँले बताउनुभयो । दुवै जनाको आज पिसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताउनुभयो । रासस