• २०८३ असोज २७ गते मङ्गलवार

अध्यक्ष प्रचण्ड कारबाहीको भागिदार हुनुपर्छः प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १६काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्प कलम दाहाल प्रचण्ड कारवाहीको भागिदार हुनुपर्ने बताउनुभएको छ ।

आज बालुवाटारमा भएको नेकपाको सचिवालयका बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सचिवालयमा विचाराधीन रहेको विषयलाई तल्ला कमिटीमा लैजाने नाममा प्रचण्डले पार्टीको छाप, लेटरप्याड दुरुपयोग गरेकाले कारबाहीको भागिदार हुनुपर्ने धारणा राखेको सचिवालयका एक सदस्यले बताउनुभयो ।

“केन्द्रीय कार्यालयमा नाम र लोगो प्रयोग गरेर जुन पुस्तिका छाप्नुभएको छ । यो पार्टीको विधान, पद्धति र अनुशासनविपरीतको काम हो,” ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भन्नुभयो, “कसको निर्णय, कसको अनुमतिले छाप्नुभयो । यो तपाईंको निजी पार्टी त होइन । पार्टीको निर्णयबेगर पार्टी कार्यालयका तर्फबाट भनेर पार्टीको लोगो प्रयोग गरेर कसरी छाप्न सक्नुभयो रु तपाईंलाई किन कारबाही नगर्ने ?”

बैठकमा प्रधानमन्त्रीले बारम्बार तयारी गरेर, योजनासहित छलफल गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष प्रचण्डसहितको समूहले त्यसलाई अस्वीकार गरेको आरोप थियो । “आवश्यक तयारी गरेर, व्यस्थित प्रस्ताव तयार गरेर पार्टीलाई अगाडि बढाउनेगरी बैठक गरौं भन्दै आएको छु,” ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो, “तपाईंहरू पार्टीलाई विखण्डन र सर्वनासतिर लैजान खोजिरहनुभएको छ । यसढङ्गले बैठक गर्नुको औचित्य पनि छैन । तपाईंहरूलाई त्यहीँ जानु छ भने बैठक किन गरिरहनुहुन्छ । पार्टीको पहिलो अध्यक्षको नाताले पार्टी एकता, जनताको जनादेशलाई जोगाउन सामर्थ्यले भ्याएसम्म कोसिस गरिरहेको छु । तर, तपाईंहरू यो सबै चिजलाई भत्काएर समाप्त पार्ने चलखेलमा हुनुहुन्छ ।”

प्रधानमन्त्रीले प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूको गतिविधिको सूचना पाएको र त्यो सबै अध्ययन गर्दा पार्टी विभाजनको निम्ति तयारी हालतमा देखिएकोसमेत बताउनुभएको थियो । “तपाईंहरू विखण्डन, विभाजन र सर्वनासतिर जाने चलखेलबाट फिर्ता हुनुस्,” प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभएको थियो, “गुटबन्दीबाट फिर्ता दिनुस् । नत्र बैठकको के औचित्य ?”

Sharing

प्रतिक्रिया दिनुहोस