• २०८३ असार ६ गते शनिवार

नेकपामा पुरानै जुहारी: प्रधानमन्त्री ओली मिलाउने, अध्यक्ष प्रचण्ड झुलाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १६, काठमाडौँ। सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो । अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलर समेत गरेको थियो ।

तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ । केही दिनयता त्यसले उत्कर्ष रूप लिँदै गएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी गराउनै पनि दोस्रो तहका मध्यस्थकर्ता नेताले मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । दोस्रो तहका नेताहरूको तीन दिन यताको दौडधुपपछि शनिबार प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता त भयो तर विवाद कायमै छ । राजदूत नियुक्ति, रिक्त मन्त्री नियुक्ति, भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध राखिएको अविश्वास प्रस्ताव पछिको राजनीति, पर्सामा जिल्ला सदस्य महेश चौरसियाको हत्या प्रकरणलगायत विषयमा दुई अध्यक्षको बुझाइमै मतभिन्नता छ ।

दाहाल सचिवालय बैठक राखेर प्रधानमन्त्री ओलीमाथि बहुमत नेताको दबाब बढाउन चाहन्छन् । कात्तिक १५ देखि तोकिएको केन्द्रीय समिति बैठक मंसिर १५ मा सार्ने निर्णय लिनसमेत महासचिव पौडेलले दुई अध्यक्षलाई अलग–अलग भेटेर आग्रह गरेका थिए । दुई अध्यक्षमा संवादहीनताका कारण देखिएको यो अवस्था तोडाउन ओली पक्षधर नेताहरूले निकै मिहिनेत गर्नुपरेको थियो । फलस्वरूप ओली र दाहालबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने दुई घण्टा छलफल भएको छ ।

दाहाल दिउँसो १ बजे बालुवाटार प्रवेश गरेका थिए । दुई नेताबीच आन्तरिक पार्टी विवादका एजेण्डामा कुराकानी भएको थियो । तर, कुनै नतिजामुखी छलफल भने नभएको स्रोतको भनाइ छ । सचिवालय बैठक बोलाउन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई कात्तिक १ र कात्तिक ९ मा दुई पटक पत्र लेखेरै माग गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस