चैत १९, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले मङ्गलबार एक विज्ञप्ती जारी गरेको छ । केहि दिन अगाडि लुम्बिनि सञ्चारमा आएको समाचार प्रति भ्रममा नपर्न आग्रह सहित गाउँपालिकाका प्रवक्ता नमराज थापाले विज्ञप्ती मार्फत जानकारी गराउनुभएको हो ।
विज्ञप्तीमा भनिएको छ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19) को जोखिमबाट मुक्त हुन यस गाउँपालिका र मातहतका सवै निकायहरु सुरुवात देखिनै सक्रियता पूर्वक आ–आफ्नो क्षेत्रबाट निरन्तर लागि रहेको कुरा सर्वप्रथम सवैमा जानकारी गराउँछौ । २०७६ चैत्र १६ गते लुम्बिनी सञ्चारमा प्रकाशित “कोरोनाको त्रासमा जनता, झुट बोल्दै गाउँपालिकाका अध्यक्ष काठमाण्डौँमा बस्दै” भन्ने समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । गाउँपालिका अध्यक्ष कार्यालयको कामकाजको शिलशिलमा काठमाण्डौँ गएको कुरा साचोँ हो, कामको शिलशिलामा काठमाण्डौँमै रहेको अवस्थामा नेपाल सरकारले लकडाउन ग¥यो । उहाँले काठमाण्डौँमा रहेर पनि नेपाल सरकार र प्रदेश सरकारबाट सम्पूर्ण स्थानीय तहहरुलाई दिइएको निर्देशनहरु कार्यान्वयनका लागि गाउँपालिकासँग प्रत्यक्ष सम्पर्कमा रही कामकाज गर्दै आइरहुन भएको कुरा जानकारी गराउदछौँ । यो कठिन परिस्थितिमा कोरोना भाईरस विरुद्ध जुट्न आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध नहँुदा सोको व्यवस्थापनका लागि माननीय मन्त्रीज्यूहरु, माननीय साँसदज्यूहरु सहितका उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क स्वास्थ्य सेवा विभागसँग समन्वय र बजारमा आवश्यक सामाग्रीहरुको व्यवस्थापन समेत गरेर अध्यक्ष ज्यू गाउँपालिकामा उपस्थित भइसक्नु भएको छ । जननिर्वाचित जिम्मेवार पदाधिकारी जनतालाई त्रासमा राखेर आफु पन्छिएर बस्न मिल्दैन, बस्नु हुदैन र बसेको पनि होइन भन्ने कुरा समेत सवैमा जानकारी गराउदछौँ ।
सरकारले कोरोना भाइरसको विरुद्धमा गाउँपालिका स्तरीय कार्यदल गठन गरी अघि बढ्न गरेको परिपत्र अनुसार गाउँपालिका उपाध्यक्षज्यूको नेतृत्वमा कार्यदल गठन भएको उक्त कार्यदलले कार्ययोजना निर्माण गरी सवै वडामा वडा स्तरीय समिति गठन गर्ने, वडामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउने, सञ्चारका साधनहरुलाई प्रयोग गरी सन्देशहरु प्रवाह गर्ने, रोल्पा प्रवेशद्वार चतुर्भुजमा हेल्थ डेस्क स्थापना गर्ने र आवश्यकता अनुसार अन्य वडाहरुमा पनि स्थापना गर्ने तथा वडा स्तरका सम्पूर्ण गतिविधिहरुको समन्वय र वडाहरु बाट माग भए वमोजिम सहयोग गाउँपालिका स्तरको कोरोना रोकथाम तथा नियन्त्रण समितिले गर्ने निर्णयहरु गरी गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु र अन्य सरोकारवालाहरु एकतावद्ध भई कोरोना विरुद्ध परिचालित रहेको व्यहोरा जानकारी गरादछौ । यस कार्यमा वडाबाट माग भए बमोजिम सुरक्षाकर्मी सहितको टिम तयार गरी माईकिङ तथा प्रचा पम्पीलेटहरु वितरण गर्ने गाउँपालिकालाई प्राप्त स्वास्थ्य सामाग्रिहरु स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने, भारत लगाएत बाहिरबाट आउने व्यक्तिको विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने लगाएतका कार्य गाउँपालिकाबाट भएको छ । विपद व्यवस्थापन कोषको स्थापना तथा कार्यविधि समेत निर्माण गरिएको व्यहोरा समेत जानकारी गराउदछौँ ।
अन्त्यमा, गाउँपालिका नागरिकको स्वास्थ्य, सुरक्षा जस्ता विषयमा संवेदनशील छ र रहने छ । कोरोना विरुद्धको लडाईमा साथ दिन सवै गाउँवासीहरु, सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, संचार माध्यम र अन्य सरोकारवाला निकायहरुलाई अनुरोध गर्दै यस्ता भ्रमित समाचारको विश्वास नगर्न र भ्रममा नपर्न सवैमा गाउँपालिका हार्दिक अनुरोध गर्दछ विज्ञप्तीमा भनिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।
